प्रहरीलाई हतियार खरिद गर्न देउवा सरकारले नै दिएको थियो स्वीकृति
प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभाको अर्थ समितिलाई बुझाउन तयार गरेको गोप्य विवरणमा समावेश एक पत्रमा २०७९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्ट गन (फोल्डिङ) र ९ एमएम पेस्तोल खरिद गर्न स्वीकृति दिएको उल्लेख छ ।
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले कुनै निर्णय नभएको दाबी गरेपनि मन्त्रिपरिषद् बैठकले गत वैशाखमा प्रहरीलाई हतियार खरिदका लागि स्वीकृति दिएको भेटिएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभाको अर्थ समितिलाई बुझाउन तयार गरेको गोप्य विवरणमा समावेश एक पत्रमा २०७९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्ट गन (फोल्डिङ) र ९ एमएम पेस्तोल खरिद गर्न स्वीकृति दिएको उल्लेख छ ।
गृह मन्त्रालयबाट प्रहरीलाई प्राप्त चलानी नम्बर ५८३ को पत्रमा ‘नेपाल सरकार म.प.बै.सं. (मन्त्रिपरिषद बैठक संख्या) ३/०७९ मिति २०७९/०१/२५ गतेको पत्रद्वारा सर्ट गन र ९ एमएम पेस्तोल खरिद गर्न पूर्व स्वीकृति प्राप्त भएको निर्णय प्राप्त भएको’ले प्रक्रिया थाल्न भनिएको छ ।
त्यही आधारमा हतियार खरिदका लागि प्रहरीले सुरक्षा सामरिक वा प्रतिरक्षा आपूर्ति गर्ने कार्यविधि, २०६४ र सार्वजनिक खरिद नियमावलीका प्रावधान अनुसार ९३ करोड ९९ लाख ७५ हजार रुपैयाँ लागत अनुमान गरेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।