मदिरा सेवन गर्न अब लाईसेन्स चाहिने
साउन १६गते :यदि तपाईं जुम्लाको गुठीचौर गाउँपालिकामा हुनुहुन्छ भने आफूले चाहँदैमा मदिरा सेवन गर्न पाउनुहुने छैन । उक्त गाउँपालिकाले भदौ १ बाट लागू हुने गरी ल्याउन लागेको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिले पियक्कडलाई मद्यपानका लागि ‘लाइसेन्स’ लिनुपर्ने भएको हो ।
कार्यविधि लागू भएपछि पालिकावासी पियक्कडले ५ सय रुपैयाँ तिरेर मदिरा सेवन कार्ड बनाउनुपर्नेछ भने त्यति नै रकम बुझाएर बर्सेनि नवीकरण पनि गर्नुपर्नेछ ।
पालिका बाहिरका मदिरा सेवनकर्ताका लागि भने एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । कार्यविधिले एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल र हार्डड्रिंक्स १ सय ८० मिलिलिटर मात्र पिउन पाउने गरी हदबन्दी लगाएको छ ।
गुठीचौर गाउँपालिकाले १५ औं गाउँसभाबाट उक्त कार्यविधि पारित गरेको हो । पालिकाले मदिरा बेच्नेका हकमा पनि नियम तय गरेको छ । कार्यविधिमा थोक विक्रेताले बिहान ७ देखि बेलुका ५ बजेसम्म र खुद्रा विक्रेताले बेलुका ६ देखि ९ बजेसम्म मात्रै मदिरा बेच्न पाउने व्यवस्था गरिएको छ । मदिरा सेवन र बिक्रीवितरणका कारण शान्ति सुरक्षामा खलल पुगेको भन्दै इजाजत कार्डको व्यवस्था गर्न लागिएको गाउँपालिकाका प्रवक्ता अर्जुन महतराले बताए । ‘कार्यविधि लागू गर्न पालिकाले साउन महिनाभर हरेक गाउँबस्ती र टोलमा मदिराविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने काम भइरहेको छ,’ प्रवक्ता महतराले भने । उनले कार्यविधिबारे सर्वसाधारणलाई बुझाउन जनप्रतिनिधि, कर्मचारी र स्वयंसेवक खटाइएको बताए ।#याे खबर कान्तिपुर मा छ#