आज एनपीएलमा लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (शनिबार) दुई खेल हुँदैछन् । एनपिएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ ।

जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ। लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दै छन् ।

यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ । जारी एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । जारी एनपिएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *