सुदूरसँग भिड्नुअघि जनकपुरलाई धक्का, कप्तान अनिल साह टोलीबाट बाहिरिए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि दाबेदार टोली जनकपुर बोल्ट्सका कप्तान अनिल साहले बाँकी खेल गुमाउने भएका छन् ।

पछिल्लो खेलमा चितवन राइनोजविरुद्ध हातमा चोट बोकेका उनी आगामी खेलमा सहभागी हुन नसक्ने भएका हुन् । उनी सो खेलमा आठ रनमै आउट भएका थिए । त्यो खेलमा आउट हुँदा उनको हातमा चोट लागेको हो । अब उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ । अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । उनी टोलीका मार्की खेलाडी पनि हुन् ।

प्रतियोगितामा जनकपुरलाई क्वालिफायरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका अनिलले १३२ रन बनाएका छन् । जनकपुरले भोलि पहिलो क्वालिफायरमा सुदुरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । उनी टिममा नहुने भएपछि जनकपुरलाई दबाब बढेको छ । किनकी समूह चरणको खेलमा बोल्टसले सुदूरसँग ७२ रनको लज्जास्पद पराजय बेहोरेको थियो ।

सुरूवाती चार खेल हेर्दा जनकपुरको टप अर्डर ब्याटिङदेखि मिडल अर्डर र बलिङमा पनि सबैकुरा मिलेको देखिएको भएपनि त्यसपछिका प्रदर्शनले जनकपुरको ब्याटिङमा केही चिन्ता थपेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *