स्वास्थ्य मन्त्री पौडेलको पहल : सेना र प्रहरीका अस्पताललाई सर्वसाधारणका लागि खुला गर्ने प्रक्रिया शुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना र प्रहरीका अस्पतालमा आम नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रक्रिया शुरु गर्नुभएको छ।

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको अस्पताललाई सर्वसाधारणको लागि खोल्न आवश्यक तयारी गर्न मन्त्री पौडेलले अतिरिक्त सचिव डा.टंक बराकोटीको नेतृत्वमा कार्यदल गठन गर्नुभएको छ।

कार्यदललाई आम नागरिकलाई अस्पताल सेवा उपलब्ध गराउनका लागि आवश्यक कार्यविधि तयार पार्न र यसको कार्यान्वयन सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गर्न निर्देशन दिइएको छ।

गत २०७४ जेठ ४ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी र नेपाली सेना अन्तर्गतका अस्पताललाई सर्वसाधारणका लागि खोल्ने र स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा कार्यविधि बनाउने निर्णय गरेको थियो।

मन्त्री पौडेलले हालै सशस्त्र प्रहरीका अस्पतालको हकमा समेत अध्ययन गर्न कार्यदललाई निर्देशन दिनुभएको छ। कार्यदलले विज्ञ र सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार गर्ने छ।

कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधि, सेना, प्रहरी, सशस्त्र प्रहरीका अस्पतालका प्रतिनिधिहरूसँगै स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि सदस्य रहेका छन्।

मन्त्री पौडेलले सरकारी सुरक्षा निकायको अस्पताललाई आम नागरिकका लागि खोल्ने निर्णय कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएको प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *