‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक,कविता टुरको साथ दर्शकसँग जोडिने अभियान शुरु

काठमाडौं : सामाजिक र हास्य कथावस्तुमा आधारित फिल्म लाज शरणम् ले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आफ्नो प्रचार अभियान सुरु गरेको छ। निर्देशक कुमार कट्टेलले बुधबार फिल्मका तीन नयाँ पोस्टर सार्वजनिक गर्दै प्रचार कार्यको शुरुवात गरेका छन्।

निर्देशक कट्टेलका अनुसार फिल्मको प्रवर्द्धन गतिविधि देशभर फैलिनेछ। यो अभियानमा कविता र गायनका कार्यक्रमहरू पनि समावेश गरिनेछन् । जसबाट दर्शकसँग सीधा जडान स्थापित गर्न र फिल्मका बारेमा जनचेतना फैलाउनको लागि विभिन्न क्याम्पेनहरू सञ्चालन गरिनेछ।

 

पोस्टरले के दर्शाउँछ ?

यस फिल्मका तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । जसमा हालका चर्चित फिल्म कलाकारहरू र ‘सक्किगो नि’ टिभी सिरियलका पात्रहरूलाई समावेश गरिएको छ।

पहिलो पोस्टरमा निरौला र बराल सँगै छन्, जहाँ निरौलाको ढाडमा बसेर बरालले मान्छेको हड्डीको शंख फुकिरहेका छन्।

दोस्रो पोस्टरमा शव बाकसभित्र हरिश निरौला, विजय बराल, सागर लम्साल र अर्जुन घिमिरेको उपस्थिति देखिन्छ।

तेस्रो पोस्टरमा महेश त्रिपाठी जस्तो देखिने एक व्यक्ति हातमा तराजु लिएर शव बाकसको माथि उभिएका छन्।

यी पोस्टरहरूले मानिसको लोभ र लालचका कारण कसरी मृत्युसम्म पुग्न सक्छ भन्ने गम्भीर सन्देश दिन्छन्। निर्देशक कट्टेलका अनुसार, ‘लाज शरणम्’ले गम्भीर सामाजिक विषयवस्तुलाई हास्यशैलीमा प्रस्तुत गरेको छ।

फिल्मको प्रमुख कलाकार र टीम

फिल्ममा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगी, माला लिम्बू, अर्जुन घिमिरे, सागर लम्साल, प्रियना आचार्य, बबिन राई, रामभजन कामत, र कमलमणि नेपालका प्रमुख कलाकारहरू छन्। छायांकन सुदीप बरालले गरेका छन्।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ फिल्मलाई नवीन श्रेष्ठले निर्माण गरेका हुन्। रामनरेश शाह र सिर्जना खड्का सहनिर्माताहरू रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *