‘होस्टेल ३’ को दोस्रो पोस्टर रिलिज, फागुनमा पर्दामा आउने तयारी

काठमाडौं : नेपालको लोकप्रिय चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण, ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ । नयाँ पोस्टरमा प्रमुख कलाकारहरूको झलक प्रस्तुत गरिएको छ।

पहिले सार्वजनिक गरिएको पोस्टरमा चार प्रमुख अभिनेता आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङलाई रमाइलो मुद्रामा प्रस्तुत गरिएको थियो। नयाँ पोस्टरमा यी कलाकारहरूलाई अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीसँग समावेश गरिएको छ। यो पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन्।

‘होस्टेल ३’ क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथालाई दर्शाउँछ। यो चलचित्र नेपालसहित विभिन्न देशहरूमा प्रदर्शन हुने तयारीमा छ।

सशान कँडेलको निर्देशनमा बनेको यस चलचित्रको स्क्रिप्ट माधव शर्माले लेखेका छन्। चलचित्र सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो।

निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। सहनिर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिस सिग्देल छन्। यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूले पनि अभिनय गरेका छन्।

चलचित्रको डिओपी अर्जुन तिवारी, सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री, मुख्य सहायक निर्देशक सुदिप कुँवर, प्रोडक्सन डिजाइनर यम प्रसाद ओली, र संगीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल रहेका छन्।

‘होस्टेल ३’ यसअघि रिलिज भएका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को सफलता पछि निर्माण गरिएको हो । यो चलचित्र युवा दर्शकमाझ ठूलो चर्चा पाउने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *