क्यालिफोर्निया आगलागी : हलिउड स्टारका घर जले, ३ लाख मानिस प्रभावित, कमला ह्यारिसको घर खाली गर्न निर्देशन
क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस जंगलमा लागेको आगो शहरका विभिन्न स्थानमा फैलिनुका साथै विकराल रुप लिएको छ। मंगलबारदेखि सुरु भएको यस आगलागीले ४,८५६ हेक्टर क्षेत्रफललाई प्रभावित बनाएको छ । हालसम्म १,१०० भवनहरू पूर्ण रूपमा नष्ट भएका छन्।
आगलागीका कारण २८ हजार घरमा क्षति पुगेको र ५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। करीब ५० हजार नागरिकलाई तत्काल घर खाली गर्न निर्देशन दिइएको छ भने ३ लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। प्रशासनले शहरभर आपतकालको घोषणा पनि गरेको छ।
आगलागीले लस एन्जलसको विलासी पालिसेड्स क्षेत्रमा रहेका धेरै हलिउड स्टारहरूको बंगलामा क्षति पुर्याएको छ। अभिनेता मार्क ह्यामिल, पेरिस हिल्टन, जेमी ली कर्टिस, म्यान्डी मूर, एश्टन कुचर, जेम्स वुड्स, लेइटन मिस्टर लगायतका चर्चित व्यक्तिहरूको घरमा आगो लागेको खबर छ। धेरै सेलिब्रेटीहरूले आफ्नो घर छोडेर सुरक्षित स्थानमा सरेका छन्।
त्यसैगरी लस एन्जलसको ब्रेटनवुड क्षेत्रमा रहेको अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको घर पनि प्रभावित भएको छ । उनलाई उक्त क्षेत्र खाली गर्न आदेश दिइएको छ।
क्यालिफोर्नियामा आगो नियन्त्रणका लागि हेलिकप्टर र विमानको प्रयोग गरिएको छ तर तीव्र हावा र हावाको दिशा परिवर्तनका कारण आगो विभिन्न क्षेत्रमा फैलिरहेको छ। उद्धार टोलीले हजारौं नागरिकलाई सुरक्षित स्थानहरूमा सारिरहेको छ । आपतकालीन आश्रयस्थलहरूमा मानिसहरूलाई आवास प्रदान गरिएको खबरहरु अन्तराष्टिय संचार माध्यमले प्रकाशित गरिरहेका छन्।
लस एन्जलस १ करोडभन्दा बढी मानिसहरू बसोबास गर्ने अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी हो । यहाँको फिल्म उद्योगका कारण हलिउड विश्वभर प्रसिद्ध छ।