रवि लामिछानेको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयान शुरु
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान प्रक्रिया आजबाट शुरु भएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सुरु भएको हो।
लामिछाने बिहान १० बजेअघि नै अदालतमा उपस्थित भएका छन्। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। यस मुद्दामा हालसम्म दुईजना धरौटीमा रिहा भइसकेका छन्। लामिछानेको बयानपछि थुनछेकको बहस हुनेछ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको इजलासले बिहीबार लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा कास्की अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो। लामिछानेले आफैं काठमाडौं अदालतमा उपस्थित हुने भनेपछि कास्की प्रहरीले पार्टी र परिवारको जिम्मा लगाएको थियो।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा कानून विपरीत ५ करोड ७८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ।