झापामा ६ महिनामा २१३ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ
झापा : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झापा प्रहरीले लागूऔषध दुर्व्यसन र कारोबारमा संलग्न २१३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ गरिएका व्यक्तिहरूसँग खैरो हिरोइन, गाँजा, चरेस लगायतका विभिन्न लागूऔषध बरामद भएका छन्।
पक्राउ गरिएका व्यक्तिहरूबाट झण्डै ३.६७ किलोग्राम गाँजा, ७२०.८० ग्राम खैरो हिरोइन, ७,२३७ ट्याबलेट ट्रमाडोल, र एन्टिकफ लगायतका ट्याबलेटहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले लागूऔषधसँग संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ६ महिनामा झापा जिल्ला अदालतमा १५१ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्।
लागूऔषधको कारोबार सक्रिय रहेको विभिन्न स्थानहरू र सीमाना क्षेत्रमा प्रहरीको निगरानी बढेको प्रवक्ता चन्दले बताएका छन्। उनले भने, सीमानाकाबाट गाउँबस्ती र सहरसम्म लागूऔषधको कारोबार देखिएको छ। यसलाई नियन्त्रण गर्नका लागि हामीले चेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएका छौँ।
यसैगरी प्रहरीले ६ महिनामा १४८ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरी आवश्यक कानूनी कारबाही अगाडि बढाएको छ। साथै भन्सार छली गरेर ल्याइएका सामानहरू पनि बरामद गरिएको छ । जसको मूल्य १ करोड ६१ लाख १० हजार ७२२ रुपैयाँ रहेको बताइएको छ। बरामद गरिएको सामान मेची भन्सार कार्यालयमा बुझाइएको छ।