चिसोले श्वासप्रश्वासका बिरामी बढ्दै , महोत्तरीका अस्पतालमा चाप उच्च

महोत्तरी : लगातारको चिसोले महोत्तरी जिल्लामा श्वासप्रश्वास सम्बन्धी बिरामीको संख्या बढेको छ। जिल्लाका विभिन्न भेगका अस्पतालहरूमा बिरामीहरूको चाप तीव्र बढेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या वृद्धि भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहका अनुसार गत सातामा दैनिक १०० भन्दा बढी बिरामीहरू उपचारका लागि आइरहेका छन्।

उनका अनुसार चिसोको असरले खासगरी दमका बिरामीहरूको संख्या बढेको छ। उपचारका लागि आउने बिरामीहरूमा ५ वर्ष मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धहरू प्रमुख रूपमा रहेका छन्।

बर्दिबास अस्पतालमा पनि बिरामीहरूको संख्या बढेको छ। माघ महिनासँगै यहाँ दैनिक ११० देखि १२५ जना बिरामी उपचारका लागि आउने गरेको डा. सुदीपकुमार ठाकुरले जानकारी दिएका छन्।

यसैगरी जिल्लाका गौशाला र दक्षिनपश्चिमी सम्सीस्थित प्राथमिक उपचार केन्द्रमा पनि बिरामीहरूको चाप उल्लेखनीय वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *