महानगर यातायातद्धारा २० करोड लगानीमा ४० नयाँ बस सञ्चालनमा : कुन कुन रुटमा चल्छन् ?
काठमाडौं : महानगर यातायात प्रा.लि.ले आजदेखि (बिहीबार) २० करोड रुपैयाँको लगानीमा ४० वटा नयाँ बस सञ्चालनमा ल्याएको छ। यी ३२ सिट क्षमताका बसहरू साढे आठ मिटर लम्बाइका छन्।
नयाँ बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा पुर्याउने उद्देश्यले थपिएका हुन्। कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालका अनुसार यी बसहरू चन्द्रागिरी, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बनेपा हुँदै धुलिखेल अस्पतालसम्मको यात्रा गर्नेछन्।
नयाँ बसहरूको थपसँगै महानगर यातायातको कुल बस संख्या ८९ पुगिसकेको छ। कम्पनीले २०७२ सालमा काठमाडौंको चक्रपथमा ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो।
कम्पनीले आगामी दुई महिनाभित्र १० विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ। यदि यो सफल भयो भने कम्पनीले थप एक वर्षभित्र ५० वटा विद्युतीय बस सञ्चालनमा ल्याउने योजना बनाएको छ।
महानगर यातायातले भविष्यमा पब्लिक कम्पनी लिमिटेडको रूपमा रूपान्तरण गर्ने र आइपिओ जारी गर्ने घोषणा गरेको छ। यससँगै कम्पनीले लामो दूरीका रूटहरूमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यी नयाँ बसहरूले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्याउने बताएका छन्।