नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने, अमेरिकाले फेरि दियो अनुमति
काठमाडौं : अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा तत्कालका लागि फेरि सुरु हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अनुशरण गर्दै एमसीसीले लिएको कदमले नेपालको परियोजना अन्योलमा परेको थियो । गत फागुन २ मा नेपाल सरकारलाई पत्राचार गरेर भुक्तानी रोक्ने जानकारी दिएको थियो । अहिले त्यही स्थगित परियोजना पुनः सुरु हुने भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले अमेरिकी सरकारले एमसीसीअन्तर्गतका परियोजना अघि बढाउन अनुमति प्रदान गरेको जानकारी दिएको छ ।
तर ९० दिनको समीक्षा अवधि भने अझै जारी रहेकाले कार्यक्रमको निरन्तरताबारे भने प्रष्ट छैन । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर आएपछि सबै प्रकारका विदेशी अनुदान स्थगन गरेका थिए ।
सो क्रममा एमसीसी परियोजना स्थगित भएको थियो भने नेपालमा सञ्चालित यूएसएडका कतिपय कार्यक्रम खारेजीमै परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अनुशरण गर्दै एमसीसी परियोजना अन्योलमा परेको थियो । अहिले त्यही स्थगित परियोजना पुनः सुरु हुन लागेको एमसीएले जनाएको छ । ‘एमसीए नेपाल अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने काम भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको छ,’ एमसीएले जारी गरेको सूचनामा भनिएको छ ।
एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो । ०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार ०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको थियो । सुरुआती सम्झौतामा ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख छ । गत पुसमा अमेरिकी सरकारले परियोजनाका लागि थप ५ करोड डलर दिने घोषणा गरेको थियो ।
ट्रम्पले ९० दिनका लागि भन्दै अनुदान रोकिदिएका भए पनि एमसीसीको अनुदानमा हुने काम भने नेपालमा चलिरहेका छन् । यद्यपि पछिल्लो सूचनामा पनि एमसीसी अन्तर्गतका परियोजना पूरा हुन्छन् कि हुँदैनन् भन्ने प्रस्ट छैन । एमसीए नेपालअन्तर्गत १८ किलोमिटर बुटवल–गोरखपुर प्रसारण लाइन, ४ सय केभी नयाँ बुटवल सबस्टेसन, ४ सय केभी नयाँ दमौली सबस्टेसन र ४ सय केभी रातामाटे सबस्टेसन निर्माणाधीन छन् ।
एमसीए नेपालका अनुसार २९७ किमि प्रसारण लाइन र धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर ठेक्का आह्वान गरी प्राप्त प्रस्तावको मूल्यांकन भइरहेको छ । एमसीए नेपालले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माण गर्न १ करोड २३ लाख ६० हजार अमेरिकी डलरमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ भदौ १४ मा सम्झौता गरेको थियो ।
उक्त प्रसारण लाइन २१ महिनामा सकाउने लक्ष्यका साथ प्रारम्भिक चरणका काम भइरहेको एमसीए नेपालले जनाएको छ । एमसीसी अन्तर्गत बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन, ४०० केभी सबस्टेसनहरू, २९७ किलोमिटर विद्युत् प्रसारण लाइन, र सडक मर्मत जस्ता महत्वपूर्ण पूर्वाधार परियोजनाहरू कार्यान्वयन भइरहेको छ।