काठमान्डु गुर्खाज द्धारा कर्णाली याक्स पराजित
काठमाडौं। काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।
सोमपाल कामीको कप्तानीमा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो । काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।
काठमान्डु पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । पहिलो जितपछि काठमान्डुले २ खेलबाट २ अंक जोडेको छ । पेपरमा बलियो देखेको र धवनको आगमनले चर्चामा रहेको कर्णालीको भने यो लगातार दोस्रो हार हो ।कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।