चीनमा ‘पोखरा र भैरहवा विमानस्थल’को चर्चा
पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ सहरहरूमा नियमित उडान गर्नेबारे फेरि एक पटक चर्चा भइरहेको विस्तृत रिपोर्ट बिबिसी नेपाली सेवामा प्रकाशित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी भएको दुई देशको संयुक्त विज्ञप्तिमा ती विमानस्थललाई चिनियाँ सहरहरूसँग जोड्ने विषय समावेश भएपछि त्यसबारे फेरि चर्चा सुरु भएको हो।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री कपी शर्मा ओलीले पनि त्यसबारे कुराकानी गरेको बताइएको छ। मङ्गलवार जारी भएको संयुक्त विज्ञप्तिमा “दुवै पक्षले नेपाल र चीनबीच नागरिक उड्डययन क्षेत्रमा विकास भएको साझेदारीलाई महत्त्व दिने” उल्लेख गरिएको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने अहिले केही वायुसेवा कम्पनीहरूले नियमित उडान गरिरहेका छन्।
चिनियाँ सहयोगमा निर्माण भएको पोखरा विमानस्थलबाट नियमित उडानका लागि बेइजिङका अधिकारी “सकारात्मक भएको” छन् । अर्कोतर्फ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने अहिले केही वायुसेवा कम्पनीहरूले नियमित उडान गरिरहेका छन्।
त्यसमा दुवै देशले हवाई यातायात उद्यमलाई प्रोत्साहन र सहयोग गर्ने जनाउँदै “बजारको माग”अनुरूप पोखरा र लुम्बिनीलाई चिनियाँ सहरहरूसँग जोड्ने गरी “हवाई मार्ग खोल्ने” र “उडानहरू गर्ने” प्रतिबद्धता पनि जनाएका छन्।
त्यसका आधारमा “दुईपक्षीय आर्थिक तथा व्यापारिक साझेदारी र दुईतर्फी यात्रा”लाई सहजीकरण गर्नेमा पनि दुवै देश सहमत देखिएका छन्।
पोखराबाट कहाँ-कहाँ भएको छ अन्तर्राष्ट्रिय उडान ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएयता हालसम्म जम्मा १० वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। त्यस्ता उडानमा प्राय: सबै चार्टर्ड उडान भएका छन्। जाजरकोट भूकम्पलगत्तै चीनबाट राहत सामग्री लिएर चिनियाँ सेनाका दुई जहाज पनि उक्त विमानस्थलमा अवतरण भएका थिए।
त्यसबाहेक सिचुआन एअरलाइन्सले हालसम्म तीनवटा चार्टर्ड उडान गरेको र यसै महिनाको तेस्रो साता फेरि अर्को चार्टर्ड उडानका लागि अनुमति मागेको छ । यसबाहेक भुटानको ड्रुक एअरले एउटा उडान गरेको थियो भने हिमालय एअरलाइन्स र भारतबाट निजी चार्टर्ड विमान पनि उक्त विमानस्थलमा आइसकेको छ।
भैरहवाबाट कहाँ-कहाँ भइरहेको छ उडान?
गौतमबुद्ध विमानस्थल भैरहवाबाट अहिले नेपाल वायुसेवा निगम, यूएईको फ्लाईदुबई, कुवेतको जजीरा र थाइल्यान्डको थाई एअर एशियाले नियमति उडानहरू गरिरहेका छन्। हाल नेपाल वायुसेवा निगमले सातामा चार दिन काठमाण्डू-भैरहवा-दुबई-काठमाण्डू उडान गरिरहेको छ।
त्यस्तै फ्लाई दुबईले दैनिक रूपमा दुबई-भैरहवा-काठमाण्डू-दुबई उडान सञ्चालन गर्दै आएको छ भने जजीराले सातामा तीन दिन कुवेत सिटी-भैरहवा-कुवेत सिटी उडान गरिरहेको छ।
त्यस्तै थाई एअर एशियाले सातामा दुई दिन ब्याङ्क-भैरहवा-ब्याङ्कक उडान गर्दै आएको छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि हिमालय एअरलाइन्सले एकपटक चिनियाँ पर्यटकहरूलाई लिएर चीनबाट चार्टर्ड उडान गरेको थियो।