अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै पाउन सकिने

काठमाडौँ । नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभएको हो।

अनलाइनमार्फत अंगदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारीसमेत पाउने उहाले बताउनुभयो । मस्तिष्क मृत्युपश्चात् तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पताललेसमेत तत्काल अङ्ग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । दाता तथा बिरामीले केन्द्रको वेबसाइट एसडीएनटिसी डट जिओभी डट एनपी मार्फत जानकारी लिन सक्नेछन् ।

सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले नागरिकहरूका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा उपलब्ध गराइरहेको भन्दै धेरैको ज्यान बचाउन नागरिकहरूका लागि मस्तिष्क मृत्यु पश्चात् अंगदान प्रोत्साहन गर्न कार्यक्रम सुरु भएको जानकारी दिनुभएको छ।

नेपालसहित विभिन्न देशका अङ्ग प्रत्यारोपणमा संलग्न चिकित्सक, विज्ञ तथा सरोकारवाला सहभागी कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, ‘देशमा ९८ प्रतिशत मिर्गौला तथा ९० प्रतिशत नागरिक फोक्सो प्रत्यारोपणपछि सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौँ ।’

मन्त्री पौडेलले अहिले भक्तपुरको केन्द्रबाहेक पोखरा र सुर्खेतमा उपलब्ध प्रत्यारोपण सेवा यसै वर्ष बाँकी प्रदेशमा विस्तार गर्ने लक्ष्यसाथ काम गरिरहेको बताउनुभयो । ‘यसै वर्ष थप प्रदेशमा सेवा विस्तार भएको पाउनुहुनेछ,’ मन्त्री पौडेलले भन्नुभयो।

नेपालमा १२ वर्षमा शहीद धर्मभक्त केन्द्रमार्फत एक हजार तीन सय ३५ मिर्गौला तथा ३० जनाको फोक्सो प्रत्यारोपण भैसकेको छ ।

मस्तिष्क मृत्यु भएका नागरिकबाट अंगदान प्रवर्द्धनका लागि भन्दै हालै मात्र दाताको परिवारलाई २ लाख तथा ७५ हजार अस्पतालका लागि दिने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले गर्नुभएको थियो।

देशको सरकारी प्रत्यारोपण सम्बन्धी एकमात्र विशिष्टीकृत अस्पताल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बर्सेनि ३ हजार अपेक्षित मध्ये २ सय लाई मात्र मिर्गौला प्रत्यारोपण सुविधा दिन सकेको छ ।

दाता अभावमा अन्य अस्पतालले १ सय जनालाई मात्र अङ्ग प्रत्यारोपण गर्न सफल भएका छन् । जीवित व्यक्तिले परिवारलाई मात्र दिन पाउने तर मस्तिष्क मृत्यु भए पछि दान गर्ने दाता कम भएका कारण कैयौँले दाता अभावमा ज्यान गुमाउनु परिरहेको छ ।

स्वास्थ्य मन्त्री पौडेलले मस्तिष्क मृत्युपश्चातका दाता बढाउन दान अभियान प्रवर्द्धन तथा प्रत्यारोपण सेवा विस्तार गर्ने नीति लिनुभएको छ।

मन्त्री पौडेलका अनुसार हाल भक्तपुरस्थित केन्द्रका अलावा सरकारीस्तरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अङ्ग प्रत्यारोपण सेवा दिइरहेकामा भेरी अस्पताल घोराही दाङ, सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा बाग्मतीको भरतपुर अस्पतालमा समेत मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

कोसी अस्पताल विराटनगरमा केही समयभित्रै यो सेवा थाल्ने तयारी गरिएको छ ।

दाता र लिन चाहने बिरामी र अस्पताल बढ्दै जाँदा अनलाइन प्रणालीले ताजा जानकारी दिने भएकाले यसले धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास लिइएको चिकित्सक डाक्टर कल्पना श्रेष्ठले बताइन् । ‘एकीकृत अनलाइन प्रणालीले अस्पताल र बिरामी दुवैलाई धेरै सजिलो बनाउँछ,’ उनले भनिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *