जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान, आयोजकलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गर्नुभएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गरेको भन्दै टोलीलाई बधाई दिनुभयो ।
शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।
प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिंदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह समेत गर्नुभएको छ ।
आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतिको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको उहाले बताउनुभयो ।
विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट सङ्घ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने आश्वासन पनि दिनुभएको छ।
सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठुला खेलाडीलाई श्रम स्वीकृतिमा झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभयो ।