दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिनु यो पहिलो घटना हो।

राष्ट्रपति योलले ३ डिसेम्बरमा सैनिक शासन लागू गर्ने निर्णय गरेपछि तीव्र विरोध सुरु भएको थियो। विपक्षी दलहरूको विरोध र सार्वजनिक दबाबका बीच उहाले उक्त निर्णयलाई ६ घण्टामै फिर्ता लिनुभयो। यसै प्रकरणमा संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि राष्ट्रपति योललाई पदबाट निलम्बित गरिएको हो।

यो मामला हाल संवैधानिक अदालतमा विचाराधीन छ। दक्षिण कोरियाको कानुन अनुसार, महाअभियोग पारित भएपनि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय संवैधानिक अदालतले नै गर्नेछ।

राष्ट्रपति योललाई भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले तीनपटक सम्म उपस्थित हुन आग्रह गरेका थिए। तर, उहा अनुसन्धानमा उपस्थित नभएपछि सो विषयमा कुनै प्रगति हुन सकेको थिएन। सोमबार मात्र अदालतले राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जीको अनुमति माग्ने निर्णय गरेको थियो।

सियोल पश्चिमी जिल्ला अदालतले उच्च अधिकारीविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढाउने क्रममा मंगलबार बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी गरेको जानकारी दिइएको छ।

यो घटनाले दक्षिण कोरियामा कानुनी र राजनीतिक तना–तनीको स्थिति थप जटिल बनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *