फिल्म ‘मायावी’को पहिलो गीत ‘त्यो माया हो’मा पल र दीपिकाको रोमान्टिक जोडी

काठमाडौं : फिल्म बजारमा गीतहरूको अभाव भइरहेको बेला फिल्म ‘मायावी’को पहिलो गीतले केही नयाँ आभास दिलाएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा बुधबार सार्वजनिक गरिएको यस गीतले रोमान्टिक भावनालाई उजागर गर्दै दर्शकलाई आकर्षित गरेको छ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार पल शाह र दीपिका प्रसाईंको प्रेम अनुभूति प्रस्तुत गरिएको छ। सफ्ट शैलीको रोमान्टिक गीतमा यी दुई कलाकारले एक अर्कामा प्रेमका भावनाहरू पोखेका छन्। गीतमा एसडी योगी र सदीक्षा कट्टेलको सुमधुर स्वर, राम अविरल विष्टका शब्द र एसडी योगीकै संगीतको समावेश छ।

गीतको भिडियोलाई प्रसिद्ध नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेका छन्। राजुविक्रम थापाको छायांकन र मिलन श्रेष्ठको सम्पादनले भिडियोमा थप रङ भरिएको छ। फिल्मको निर्देशन, कथा र लेखन दिवाकर भट्टराइले गरेका हुन्।

फिल्म ‘मायावी’का लगानीकर्ता ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त हुन्। प्रविण भट्टराई र करणसिंह कार्यकारी निर्माता रहेका छन् भने मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह निर्माता हुन्।

निर्देशक भट्टराइको अनुसार, ‘मायावी’ प्रेम र मित्रताको आभास दर्शकलाई दिने फिल्म हो। कमेडी, एक्सन र पारिवारिक फिल्महरूको बीचमा निर्देशक भट्टराइले प्रेमकथामा आधारित एक नयाँ फिल्म ल्याउनुभएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *