अफसिजनमै सगरमाथामा विदेशीको लर्को, एक सातामै गरे २२८ पर्यटकले प्रवेश
सोलुखुम्बु: पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको संख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ।
कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक सय ३७ पुरूष गरी दुई सय २८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन्।
पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्यांक छ। अफसिजनमा विगतमा पर्यटक आगमन शून्यजस्तै हुने गरे पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो।