एमसिसीले थप्यो ६ अर्ब ८० करोड सहायता, कहाँ हुँदैछ लगानी?
काठमाडौँ: अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले ६ अर्ब ८० करोड थप सहायता रकम प्रदान गर्ने भएको छ। अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्बबराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको छ।
यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसिसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमसिसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारणलाइन बन्नेछ । काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइनेछ । प्रसारणलाइन निर्माणपछि नेपाल–भारतबिच तीन हजार मेगावाट बिजुली आदान–प्रदान सम्भव हुनेछ ।