एमालेले २०८४ लक्षित तीन महिने घरदैलो अभियान सुरु गर्ने

विराटनगर : नेकपा (एमाले)ले आगामी २०८४ सालको चुनावलाई लक्षित गर्दै तीन महिने घरदैलो कार्यक्रम अभियान सुरु गर्ने घोषणा गरेको छ। यस अभियान अन्तर्गत पार्टीका नेता र कार्यकर्तालाई स्थानीयस्तरमा परिचालन गर्दै जनतासम्म पुग्ने कार्य हुनेछ।

एमाले कोशी प्रदेश कमिटीको शनिबार सम्पन्न बैठकमा उक्त अभियानको प्रस्ताव गर्दै आइतबार प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। यस कार्यक्रममा ४४५ जनाको सहभागिता रहेको थियो । जसमा २५७ प्रदेश कमिटी सदस्य, ५६ केन्द्रीय नेतृत्व, १४ जिल्लाका पदाधिकारीहरू र जनसंगठनका केन्द्रीय पदाधिकारीहरू रहेका थिए।

आगामी २५ वर्षमा नेपाललाई समृद्ध राष्ट्र निर्माणका लागि २०८४ र त्यसपछिका हरेक निर्वाचनहरुमा तीन वटै तहमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य सहित अभियान सञ्चालन गरिएको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताउनुभयो ।

अभियानअन्तर्गत नेता कार्यकर्ताहरूलाई प्रशिक्षण प्रदान गर्ने, पार्टी विरुद्धका साइबर हमलाको विरोध गर्ने, र युवा नेतृत्वको विकासमा ध्यान दिने काम पनि समावेश छ।

पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले भन्नुभयो, ‘‘अब पार्टीको कामको मुल्यांकन केवल सामाजिक सञ्जालमा सेल्फी खिचेर र त्यसलाई पोस्ट गरेर गर्ने हो भने, त्यो संगठनात्मक सिद्धान्तसँग मेल खाँदैन।’’

यस अवसरमा पार्टीका स्थायी कमिटी सदस्य शेरधन राई, राजेन्द्र गौतम, हिक्मत कार्की लगायतले सम्बोधन गरेका गर्नुभएको थियो । केन्द्रीय कमिटीका उपाध्यक्ष गुरु बराल र कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा पनि कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *