द न्युयोर्क टाइम्सको सिफारिस : विश्वको नवौँ उत्कृष्ट घुम्ने ठाउँ ‘लुम्बिनी’

लुम्बिनि : अमेरिकाको प्रतिष्ठित पत्रिका (द न्युयोर्क टाइम्स) ले २०२५ मा घुम्नुपर्ने स्थानहरूको सूचीमा लुम्बिनीलाई नवौं स्थानमा राखेको छ। उक्त सूचीमा “२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट गन्तव्य” का रूपमा लुम्बिनीलाई विशेष स्थान दिइएको हो।

पत्रिकाले लुम्बिनीको इतिहास र महत्वलाई विशेष रूपमा प्रस्तुत गर्दै यहाँ हजारौं वर्ष अघि रानी मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल रहेको र यहाँ ऐतिहासिक अवशेष र जीवन्त बौद्ध कला पाइने पनि उल्लेख छ।

लुम्बिनी बौद्ध धर्मको प्रमुख तीर्थस्थल र आस्थाको केन्द्रको रूपमा परिचित छ। यस सन्दर्भमा (न्युयोर्क टाइम्स)ले भूकम्प पछि लुम्बिनीमा भएका नयाँ मन्दिर र ध्यान केन्द्रहरूको बारेमा पनि चर्चा गरेको छ। विशेष रूपमा नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को चर्चा गरिएको छ । जसमा महायानी सम्प्रदायको प्रभावशाली र आकर्षक कला संरचनाहरू छन्। यस मन्दिरमा त्रिकाल बुद्धका १६ फिट अग्ला मूर्तिहरू र १८ इन्च अग्ला हजारौं बुद्ध प्रतिमाहरू रहेका छन्।

सन् २०२४ मा लुम्बिनीमा १ सय १२ देशका ३ लाख ८ सय ८९ भारतीय र १ लाख ११ हजार ४ सय ३ तेस्रो मुलुकका पर्यटकहरू आएका थिए। यस वर्ष तेस्रो मुलुकका पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा ४८ प्रतिशतले वृद्धि भएको छ।

(न्युयोर्क टाइम्स) को आलेखले केवल बौद्ध धर्मका अनुयायी मात्रै नभएर ध्यान र आध्यात्मिकता प्रति चासो राख्ने पर्यटकहरूको आगमन बढाउने आशा व्यक्त गरीएको छ । लुम्बिनीको आकर्षण अब विश्वभरका विभिन्न प्रकारका पर्यटकहरूको रोजाइमा पर्न सक्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *