स्वास्थ्यकर्मीको तलब र भत्ता सुधारमा ध्यान दिन समितिको सिफारिस : चिकित्सकको तलब १ देखि २.५ लाखसम्म

काठमाडौं : स्वास्थ्य र जनसंख्या मन्त्रालयको अधीनमा बनेको अध्ययन समितिले चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलब र भत्तामा सुधारका लागि सिफारिस गरेको छ। समितिले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाउँदै चिकित्सकको मासिक तलब १ लाखदेखि २ लाख ५० हजारसम्म पुर्‍याउनुपर्ने प्रस्ताव गरेको छ।

मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीको संयोजकत्वमा गठन गरिएको समितिले सोमबार उक्त प्रतिवेदन प्रस्तुत गरेको हो। समितिको सिफारिस अनुसार एमबीबीएस र बीडीएस चिकित्सकलाई १ लाखदेखि १ लाख २५ हजार मासिक तलब र एमडी, एमएस गर्ने चिकित्सकलाई १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म तलब सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै डीएम र एमसीएच गरेका चिकित्सकहरूको तलब २ लाख २५ हजारदेखि २ लाख ५० हजारसम्म हुनुपर्ने प्रस्ताव गरिएको छ।

सिफारिसमा चिकित्सकहरूको तलब वृद्धिका लागि सेवा अनुभवको आधारमा सुविधाहरू सुनिश्चित गर्नुपर्ने भनिएको छ। यसका लागि विभिन्न भत्ताको व्यवस्था पनि गरिएको छ। एमडी एमएस गरेका चिकित्सकलाई ७५ देखि १०० प्रतिशत विशेषज्ञ भत्ता र डीएम, एमसीएच गरेका चिकित्सकलाई १०० देखि १५० प्रतिशत विशेषज्ञ भत्ता प्रदान गर्न सिफारिस गरिएको छ।

त्यस्तै, भुक्तानी र भत्ताको समायोजन गर्दै नेपालका विभिन्न भूगोलका स्थान, जस्तै सुगम, दुर्गम, अति दुर्गम क्षेत्रमा तलब वृद्धिको व्यवस्था पनि गरिएको छ। यससँगै, चिकित्सक र स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता र नन–प्राक्टिसिङ अलाउन्सको समायोजन पनि प्रस्ताव गरिएको छ।

समितिले २५ प्रतिशत जोखिम भत्ता मात्र पाइरहेका स्वास्थ्यकर्मीलाई तत्काल १०० प्रतिशत जोखिम भत्ता दिन सिफारिस गरेको छ। यस सँगै स्वास्थ्यकर्मी र उनीहरूको परिवारका सदस्यको स्वास्थ्योपचारका लागि कल्याणकारी कोषको व्यवस्था गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *