प्रधानमन्त्री ओली : अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रका संघ संस्थाहरूले हालै जारी भएका अध्यादेशहरूलाई स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन्। यी अध्यादेशहरूले मुलुकमा लगानी र व्यवसायको वातावरणलाई सुधार गर्ने उनीहरुको विश्वास रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीहरूको उपस्थितिमा आज बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल भएको थियो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल र नेपाल उद्योग तथा व्यावसायी महासंघका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशको स्वागत गर्नुभएको थियो।
निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड–१९ पछि सङ्कुचित अर्थतन्त्रलाई सुदृढ गर्न यी अध्यादेशहरू प्रभावकारी हुने बताउँदै तिनको कार्यान्वयनमा उपयुक्त नियमावली र कार्यविधि ल्याउन आग्रह गरिएको छ। यी निर्णयहरूले लगानीमैत्री वातावरण सृजना गर्न मद्दत पुर्याउने र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई पुरा गर्न योगदान दिने उनीहरुको विश्वास रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले विकास र सुशासनमा ध्यान केन्द्रित गरेका कारण देशको समृद्धि सुनिश्चित गर्ने बताउँदै सरकार ढल्ने हल्लामा नपर्न स्पष्ट पार्नुभएको छ । उहाले भन्नुभयो,”सार्वजनिक हित र सुशासनका लागि गरिएको नीति विकासमा सबै दलहरू मिलेर काम गर्दैछन्।”