सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछाने र अन्य १४ जनाविरुद्ध मुद्दा दर्ता हुदै
रुपन्देही : जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी थप मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने तयारी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र पूर्व गृहमन्त्री रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष र पूर्व डीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको आरोपमा अदालतमा पूरक मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाइएको हो।
शुक्रबार नै मुद्दा दायर गर्ने तयारी भएपनि सवोच्च अदालतमा पठाइएको फाइलमा ढिलाइ भएपछि सरकारी वकिल कार्यालयले आज १४ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाइसकेको छ।
यसअघि, जीबी राई, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, व्यवस्थापक सागर केसी र कुमार रम्तेलसहित २८ जनाविरुद्ध २०८१ वैशाख ३ मा मुद्दा दर्ता गरिएको थियो। प्रहरीले थप १४ जनाविरुद्ध मुद्दा चलाउने सिफारिस गरेको छ। जसमा ४२ जनाविरुद्ध कारवाही अघि बढाउने तयारी गरिएको बुटवलको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।