‘मायाबी’को प्रचारमा पल सक्रिय , फिल्मको प्रमोशन धमाकेदार बन्दै
काठमाडौं : फागुन १४ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मायाबी’को प्रचारमा अभिनेता पल शाह तिब्र रुपमा सक्रिय छन्। यो फिल्म उनको करियरका लागि महत्वपूर्ण मानिएको छ, जसका लागि उनी महोत्सवहरूमा आफ्नो उपस्थिति जनाउँदै फिल्मको आक्रामक प्रचार गरिरहेका छन्।
पश्चिम नेपालका शहरदेखि गाउँसम्म आयोजना भइरहेका महोत्सवहरूमा पल शाहलाई हेर्न दर्शकहरूको ठूलो भिड जम्मा भइरहेको छ। कतिपय महोत्सवहरूमा त एक लाखभन्दा बढी दर्शकको उपस्थिति देखिएको छ।
महोत्सवका मञ्चमा पलले फिल्मका गीतहरूमा नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। साथै, उनले दर्शकलाई टिसर्ट वितरण र फिल्मका पोस्टर बाँडेर प्रचारलाई थप प्रभावकारी बनाइरहेका छन्।
दर्शकहरूले ‘मायाबी’को प्रतीक्षा गरिरहेको बताएका छन्। यसैबीच, पल शाहले पनि दर्शकको यस्तो उत्साहले आफूलाई थप प्रेरित गरेको बताएका छन्।
दिवाकर भट्टराईको निर्देशनमा निर्माण गरिएको यो फिल्ममा पल शाहका साथमा दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ र समिम खानलगायत कलाकारहरूको अभिनय रहेको छ।