त्रिभुवन विमानस्थलमा १६ किलो शंकास्पद सामग्रीसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं : काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद सामग्रीसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङ जान लागेको ती चिनियाँ नागरिकको सुटकेशबाट लागूऔषध जस्तो देखिने वस्तु भेटिएको हो । जसलाई लागूऔषध हुनसक्ने शंका गरिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले बरामद गरिएको सामग्रीलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले भने, “नियमित जाँचका क्रममा उक्त वस्तु भेटिएपछि, थप अनुसन्धानका लागि एनसीबीलाई बुझाइएको छ।”
ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीका अनुसार परीक्षणका नतिजा पछि मात्रै सार्वजनिक विवरण दिइनेछ। पक्राउ परेका चिनियाँ नागरिकले अनुसन्धानमा आफूलाई विद्युतीय सामान लिएर जान भनेको तर त्यस्मा वस्तु के छन् भन्ने जानकारी नभएको बताएका छन्।