अमेरिकामा ६४ जना सवार विमान दुर्घटनामा हालसम्म कोही पनि जीवित भेटिएनन्

काठमाडौं : अमेरिकामा विमान दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ । स्थानीय समय अनुसार बुधबार राति अमेरिकी एयरलाइन्सको विमान वासिङ्टन डिसीमा हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। सीबीएस न्युका अनुसार प्रहरी अधिकारीहरूले घटनास्थलबाट अहिलेसम्म १८ वटा शव फेला पारेको जानकारी दिएका छन् ।

उद्धार टोलीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न नसकेको जनाएको छ । अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य रहेको जनाएको थियो । एयरलाइन्सले भनेको थियो, ‘हामी उनीहरूको बारेमा चिन्तित छौँ । अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं र आपतकालीन सेवाका सदस्यहरूलाई सहयोग गरिरहेका छौं।’

दुर्घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘मलाई रेगन राष्ट्रिय विमानस्थलमा भएको भयानक दुर्घटनाको पूर्ण जानकारी दिइएको छ । भगवानले उनीहरूको (मृत्यु भएका) आत्मालाई शान्ति प्रदान गरून् । पहिलो प्रतिक्रिया दिनेहरूलाई धन्यवाद । स्थितिको अनुगमन गरिरहेको छु ।’

५३४२ विमान कन्सासबाट उडेको थियो र अवतरणका लागि आउँदै गर्दा दुर्घटना भएको हो । सैन्य हेलिकप्टर प्रशिक्षण उडानमा भएको पाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *